Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पार्टी विभाजन गराउने अध्यादेश आउने आशंकाले ओली-नेपाल समूहमा तरंग

पार्टी विभाजन गराउने अध्यादेश आउने आशंकाले ओली-नेपाल समूहमा तरंग

दैनिकी न्यूज

१, भाद्र २०७८
पार्टी विभाजन गराउने अध्यादेश आउने आशंकाले ओली-नेपाल समूहमा तरंग
images

काठमाडौं । संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्।

एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल अघि बढेको छ’, ओली निकट एक नेताले भने। छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्नेगरी अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएका छन्। पार्टी विभाजन गर्नेगरी कुनै पनि प्रकारको अध्यादेश आए त्यो मान्य र क्षम्य नहुने उनले उल्लेख गरेका छन्। उनले पार्टीका नेता, कार्यकर्ता, सांसद सबैलाई पार्टी विभाजन विरुद्ध उभिन अपिल गरेका छन्। उनले पार्टीको विवाद मिलाउन १० बुँदे सहमति भइसकेकाले त्यसको पालना र कार्यान्वयन हुने बताएका छन् ।


साँझको अनौपचारिक छलफलपछि ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेका छन्। स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।


उता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३० भन्दा बढी केन्द्रीय सदस्य पनि छलफलमा जुटेका छन्। उनीहरूले आवश्यक परे राष्ट्रिय भेला बोलाएर भए पनि पार्टी विभाजन हुन नदिने गरी दबाब सिर्जना गर्ने भएका छन्। ‘पार्टी विभाजन हुने अवस्था आए एमालेका दुवै पक्षका नेताले आआफ्नो तहमा दबाब दिनेगरी कार्यकर्ता परिचालन गर्ने तयारी भएको छ’, एक नेताले भने।


यो समाचार आजको नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :भाद्र १, २०७८ मंगलवार - ०७:१३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology