काठमाडौं। अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ का लागि सेयरधनीहरुलाई लाभांश वितरण र हकप्रद जारी प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको साउन ३२ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १०.५ प्रतिशत बोनस सेयर र बाँकी ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
कम्पनीले भदौ २५ गते १८औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले आफ्नै प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि भदौ १८ गतेदेखि २४ गतेसम्म गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको २७५.८९ करोड रुपैयाँको १ः०.३९३६ प्रतिशत अनुपातमा हुन आउने १०८.६ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ।
सोही सभाले सेयरधनीहरुका लागि प्रस्तावित लाभांश र बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको १ः०.३९३६ को अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले हकप्रदबाट प्राप्त हुने रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गरिने प्रस्ताव पनि पारित गर्नेछ।
हकप्रद जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।