काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आइपुगेका चौथाइवालेले आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका उनी नै सबैभन्दा उच्चस्तरीय नेता हुन् । कांग्रेस सह–महामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशसरण महतले प्रधानमन्त्री र चौथाइवालेबीच भेटवार्ता भएको पुष्टि गर्दै दुई पार्टीबीचको सम्बन्धलाई कसरी दुई देशको हितमा विषयमा छलफल भएको बताए । ‘उहाँलाई नेपाल भ्रमणको लागि मैले कांग्रेसको तर्फबाट निमन्त्रणा दिएको थिएँ । त्यही सिलसिलामा उहाँ नेपाल आउनुभएको हो,' महतले भने, ' उहाँको यो भ्रमण मुख्यतः भाजपा र कांग्रेसको सम्बन्ध विस्तारको विषयमा केन्द्रित छ ।' भेटवार्ताले नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने काङ्ग्रेसले विश्वास लिएको छ । देउवा प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग टेलिफोनमा कुराकानी भएलगत्तै चौथाईवालेले पनि देउवासँग संवाद गरेका थिए । अनौपचारिक भ्रमणका क्रममा चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने छन् ।