Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देउवा सरकारको नीति नेकपा एमालेसँगको दूरी घटाउने

देउवा सरकारको नीति नेकपा एमालेसँगको दूरी घटाउने

दैनिकी न्यूज

२१, भाद्र २०७८
देउवा सरकारको नीति नेकपा एमालेसँगको दूरी घटाउने
images

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको दूरी घटाउने नीति लिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सघाउन एमालेलाई सरकारले अनौपचारिक प्रस्तावसमेत गरेको छ । सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले सरकार र प्रतिपक्षबीचको दूरीलाई घटाउनेगरी रणनीति बनाएका हुन् ।

त्यसका लागि आन्तरिक रूपमा प्रधानमन्त्री देउवाले आफूनिकट नेताहरूलाई प्रमुख प्रतिपक्षीसँगको संवादका लागि खटाएका छन् । यसअघि प्रधानमन्त्री रहँदा केपी शर्मा ओलीसमेत एमसीसीका विषयमा सकारात्मक रहेका थिए ।

‘प्रधानमन्त्री देउवा सरकार र प्रमुख प्रतिपक्षबीचको दूरी कम होस् भन्नेमा हुनुहुन्छ, त्यहीअनुसार उहाँले पूर्वप्रधानमन्त्री ओलीसँगको संवादलाई आफू निकटका नेतामार्फत अघि बढाइरहनुभएको छ, मुख्य विषय संसद् र एमसीसीसँग जोडिएको छ,’ प्रधानमन्त्री देउवानिकट उच्च स्रोतले भन्यो ।

देउवाले सरकार र प्रतिपक्षबीचको दूरी कम गर्ने उद्देश्यसहित १५ भदौमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष ओलीसँग भेट गर्न उनको बालकोटस्थित निवास पठाएका थिए ।

सोही दिन नै कार्कीले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई समेत एमाले संसदीय दलको कार्यालय पुगेर भेटेका थिए । नेम्वाङलाई भेटेपछि कार्की ओलीलाई भेट्न पुगेका थिए ।

‘प्रतिपक्षसँग सम्बन्धबारे कुराकानी गर्न कानुनमन्त्रीज्यू आउनुभएको थियो, त्यसपछि अध्यक्षजीसँग पनि छलफल भयो, सरकार र प्रतिपक्षबीचको वर्किङ रिलेसनका विषयमा कुराकानी भएका हुन्, एससीसीका विषय पनि आए,’ नेम्वाङले भने । सो क्रममा नेम्वाङले एमालेले एमसीसीका विषयमा गठबन्धनमा रहेका दलहरूको धारणा आएपछि राय दिने जवाफ दिएको जानकारी दिए ।

‘एमसीसी तपाईंहरूकै सरकारका पालामा आयो, हाम्रो सरकारले पनि अघिल्ला सरकारले गरेका कामलाई निरन्तरता दियो । अहिले पनि एमसीसीका विषयमा तपाईंहरू पहिले प्रस्ट हुनुस् भनेका छौं, त्यसपछि हामी राय दिन्छौं, सरकार कसरी आउँछ पहिले हेरौं,’ नेम्बाङले थपे ।

संसद् सञ्चालनका विषयमासमेत रचनात्मक प्रतिपक्षको भूमिका निभाउने जवाफ दिएको उनले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले २३ भदौका लागि डाकिएको संसद्को अधिवेशन प्रतिपक्षबाट अवरोध नहोस् भन्ने चाहेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद्को दुवै सदनको बैठक आह्वान भइसकेको छ । संसद् बैठकअघि नै सरकारले गठबन्धनबीच छलफल गरेर एजेन्डा अघि बढाउने तयारी गरेको छ भने प्रतिपक्षको धारणासमेत कुरिरहेको छ । आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - ०६:५५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology