काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि उपसभापति विमलेन्द्र निधिले सभापति उम्मेदवारी दिने तयारी वर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्लाबाट सुरु गरेका छन् । डडेल्धुरामा क्रियाशील सदस्यताको विवरण सार्वजनिक भइसके पनि विवादका कारण वडा तहको अधिवेशन हुन सकेको छैन । क्रियाशील सदस्यताको विषयमा डडेल्धुरामा देउवा पक्ष र जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षबीच विवाद चर्किएको छ । जिल्ला सभापति मल्लकै असहमतिकाबीच निर्वाचन अधिकृतमार्फत अधिवेशनको प्रक्रिया अघि बढाउन खोजेपछि देउवा–निधिबीचको संघर्ष सतहमा आएको हो । निधिले देउवाको गृहजिल्ला डडेल्धुराकै विषयमा देउवाविरुद्ध चुनौती दिएका छन् । उनले जिल्ला सभापति मल्लको पक्ष लिएर देउवालाई पत्राचार नै गरेर ध्यानाकर्षण गराएका छन् । लामो समयसम्म देउवासँगै काम गरेका निधिलाई देउवाले नै पार्टीको उपसभापति मनोनीत गरेका थिए । जिल्ला सभापति मल्लले पनि १३ आौ महाधिवेशनमा देउवाकै समर्थनमा जिल्ला सभापति जितेका थिए । तर, अहिले सभापति देउवा उनीसँग असन्तुष्ट छन् । मल्ल भने यसअघि काठमाडौंमा निधिले गरेको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी थिए । त्यसअघि स्थानीय तहको निर्वाचनमा मल्ल र देउवाबीच विवाद भएको थियो । त्यसपछि मल्ल देउवालाई छाडेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिको भेलाहरूमा समेत सहभागी हुँदै आएका थिए । आफ्नै जिल्लाको संगठन सम्हाल्ने सभापति अर्कोतिर लागेपछि देउवाले सदस्यता वितरणमा गरेको मनोमानी खुलेको छ । सदस्यताकै विवादका कारण डडेल्धुरामा वडा अधिवेशन कहिले हुने भन्ने टुंगो छैन । देउवा पक्षका नेताहरु पूर्वजिल्ला सभापति रघुवर भट्ट, नेता गोविन्द बोहरा र परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउदसहित र निर्वाचन समितिले भदौ २५ गते अधिवेशन गर्ने मिति तोकेको छ । तर, जिल्ला सभापति मल्लसहित देउवाइतर पक्षले भने सदस्यताको विवाद सुल्झाएर मात्रै अधिवेशनको प्रक्रिया अघि बढाउन सकिने भनेको छ ।