Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सरकारी कोषबाट एकै दिनमा १५ अर्ब रुपैयाँ खर्च

सरकारी कोषबाट एकै दिनमा १५ अर्ब रुपैयाँ खर्च

दैनिकी न्यूज

१, आश्विन २०७८
सरकारी कोषबाट एकै दिनमा १५ अर्ब रुपैयाँ खर्च
images

काठमाडौं । सरकारी कोषबाट एकै दिनमा झण्डै १५ अर्ब रुपैयाँ खर्च भएको छ । प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन विधेयक पास हुन नसक्दा सरकारी कोष नै ठप्प हुने स्थिति सिर्जना भएपछि सरकारले बुधबार एकैदिन १४ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको हो । मंगलबार ६७ करोड रुपैयाँमात्र खर्च भएको थियो ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले भने महिनाको अन्तिम भएकाले त्यति खर्च हुनु खासै ठूलो कुरा नभएको बताए । “आठ अर्ब चालु तथा ६ अर्ब वित्तीय व्यवस्थापनतर्फ खर्च भएको छ । महिनाको अन्तिम छ, अधिकांश रकम त तलब भत्तामा नै खर्च भएको हुनुपर्छ । कतिपय खर्च त हल्लाखल्लाले पनि भएको होला,” उनले भने ।

तर, हाम्रो प्रणालीमा रकम झिकेर राख्न भने नमिल्ने पौडेलले जनाए । “केही दिन चेक काट्न नपाइने भयो, पैसा राखेपछि खर्च गरौंला भन्ने हाम्रो व्यवस्था छैन,” उनले भने, “यो काम गरेको पैसा भनेर काम गरिसकेपछि लिन मात्र मिल्ने हो । तलब खाने समय भएकाले त्यसैको खर्च भएको हुनुपर्छ ।”

खर्च भएको रकममा ८ अर्ब ७० करोड चालु तथा १६ करोड रुपैयाँ पुँजीगत खर्च छ । त्यस्तै, वित्तीय व्यवस्थापनमा ६ अर्ब रुपैयाँ खर्च भएको छ । यससँगै सरकारले बुधबार अर्थात् खर्च गर्न पाउने अन्तिम दिनसम्ममा ८९ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ । यसमा ५८ अर्ब ३९ करोड रुपैयाँ चालु, २ अर्ब ६० करोड रुपैयाँ पुँजीगत तथा २८ अर्ब ७३ करोड रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ छ ।

बुधबारदेखि बजेट रिक्तता भएकाले सरकारले संवैधानिक निकायको साधारण खर्चबाहेक अन्य शीर्षकमा खर्च गर्न पाउने छैन । यससँगै कर्मचारीको तलब भत्तादेखि अन्य साधारण खर्च तथा पुँजीगत खर्चका लागि सरकारले चेक काट्न पाउने छैन । अर्थात् विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएसम्म सरकार मातहतमा हुने सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प भएका छन् ।

तर, सरकारलाई कर उठाउन भने रोक लागेको छैन । बुधबारसम्ममा सरकारले १ खर्ब ६४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । बजेट रिक्तता भए पनि सरकारलाई राजस्व संकलन गर्न भने कुनै रोकतोक नहुने महालेखा नियन्त्रकको कार्यालयले स्पष्ट पारेको छ । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :आश्विन १, २०७८ शुक्रवार - ०८:३९:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology