काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास समाप्त हुन लाग्दासूचीकृत २६ वाणिज्य बैंकमध्य ४ बैंकले मात्र लाभांश प्रस्ताव गरेका छन् । हालसम्म माछापुच्छ्रे, सानिमा, सिटिजन्स इन्टरनेशनल र कुमारी बैंकले लाभांश घोषणा गरेका छन् । अझै २२ सूचीकृत वाणिज्य बैंकहरूले लाभांश घोषणा गर्न बाँकी छ ।
विगत वर्षहरूमा एकाध बैंकले साधारणसभासमेत सम्पन्न गरी शेयरधनीहरूलाई दशै खर्च दिँदै आएकोमा यो वर्ष त्यो सुविधा लगानीकर्ताहरूले पाएनन् ।
हालसम्म सार्वजनिक वाणिज्य बैंकको लाभांशप्रति लगानीकर्ताहरू आकर्षित भएका छन् । लगानीकर्ताहरूले आफ्नो अपेक्षाभन्दा बढी लाभांश प्रस्ताव भएको प्रतिक्रिया दिएका छन् ।
माछापुछ्रे बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश सहित १४ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशनलले १२.९१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.०८ प्रतिशत नगद सहित १६ प्रतिशत, सानिमाले १७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद सहित १७.८९ प्रतिशत, कुमारी बैंकले ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद सहित ८.६७ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
लाभांश प्रस्ताव गरेका वाणिज्य बैंकमध्ये सिटिजन्स बैंकले बुकक्लोज मिति तोकेको छ । बैंकले १५ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ असोज २२ गते एक दिन बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।