Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एउटै मञ्चमा उभिएर प्रचण्ड र बाबुरामले के भने ?

एउटै मञ्चमा उभिएर प्रचण्ड र बाबुरामले के भने ?

दैनिकी न्यूज

१५, आश्विन २०७८
एउटै मञ्चमा उभिएर प्रचण्ड र बाबुरामले के भने ?
images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  विभिन्न समूहमा रहेका पूर्वमाओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा उनले माओवादी आन्दोलनलाई भ्रष्टीकरण र बिर्सजित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरु एक ठाउँमा उभिनुपर्ने बताए । यसका निम्ति सबैले आ–आफ्नो ठाउँबाट आत्मसमीक्षा गर्नुपर्ने जरुरी रहेको उनले उल्लेख गरे । ‘माओवादी जनयुद्धलाई बिद्रुपीकरण गर्ने, त्यसलाई भ्रष्टीकरण गर्ने, माओवादी आन्दोलनलाई बिखण्डित र बिसर्जित गर्ने षड्यन्त्रहरु तीव्र भइराखेका छन् अहिले पनि । त्यसका विरुद्ध एक हुने उपायहरुको खोजी गर्नु बुद्धिमानी हुन्छ । अहिलेको बुद्धिमानी त्यो चाहिँ हो । अहिलेको मार्क्सवाद त्यही हो,' उनले भने, 'हामी हिजो सँगै लडाइँ लडेका र यसलाई बिद्रुपीकरण गर्ने, यसलाई भ्रष्टीकरण गर्ने, बिखण्डित गर्ने, बिसर्जित गर्न चाहने प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध एकजुट हुने आजको आवश्यकता हो । एकताको खोजि गरौं हामी सबैले । त्यसको खोजी आत्मसमीक्षाबाट सुरु हुन्छ ।’ प्रतिक्रियावादीले आफूहरुलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसविरुद्ध नयाँ खालको जनयुद्धको खोजी गर्नुपर्ने उनले बताए । लाखौं जनतालाई लिएर आन्दोलित भई वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने उनको भनाइ थियो । सबै एक भए शासकीय स्वरुप फेर्न र वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरै माथि पुर्‍याउन सकिने दाहालले बताए । कार्यक्रममा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वमाओवादीहरु एकै ठाउँमा आउनेकुरा भावनात्मक कुरामात्रै भएको टिप्पणी गरे । उनले पूर्वमाओवादी एकठाउँमा आउने भन्दा पनि नयाँ विचार र संगठनको आवश्यकता रहेको औंल्याए । ‘भावनाको हदसम्म साथीहरुले भनेको कुरा सही छ । तर त्यो भावनाले ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुपर्‍यो । विवेकसँग ज्ञानमा पनि बदल्नुपर्‍यो । त्यो भनेको नयाँ विचार हो । नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ संगठन, नयाँ ढाँचा हो । त्यसैले त्यसमा पहिले बहस छलफल गरौं,' उनले भने, 'पूर्वमाओवादी एकै ठाउँ आउ भन्ने होइन, सबै पूर्वमाओवादीहरु नयाँ ठाउँमा जाऊ भन्नुपर्‍यो क्या । नयाँ ठाउँमा गएपछि त्यसले चाहिँ यो देशको मात्रै होइन विश्व मानव जातिकै निम्ति योगदान गर्न सक्छ ।’ अध्यक्ष भट्टराईले केपी ओलीले गरेको प्रतिगमन परास्त भए पनि प्रतिगमनको नयाा संस्करण आउनसक्ने बताए । अर्ली इलेक्सनको नाममा पुन: कांग्रेस र एमालेलाई अगाडि ल्याउने र माओवादीलगायतका मधेसी, जनजाति आन्दोलनबाट आएको उपलब्धिलाई उल्ट्याउने प्रयत्न भइरहेको उनले बताए ।

images
प्रकाशित मिति :आश्विन १५, २०७८ शुक्रवार - २३:२९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology