Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पाँच दलीय गठबन्धन विरुद्ध गगनले किन गरे भाषण ?

पाँच दलीय गठबन्धन विरुद्ध गगनले किन गरे भाषण ?

दैनिकी न्यूज

१६, आश्विन २०७८
पाँच दलीय गठबन्धन विरुद्ध गगनले किन गरे भाषण ?
images

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्नेगरि नेतृत्व तयार हुनुपर्ने बताएका छन् । त्यसका लागि आगामी महाधिवेशनबाट नेतृत्व त्यस्तो चयन हुनुपर्ने उनको भनाइ छ । ‘ढिलो चाँडो हुनसक्छ । तर अब पार्टीको महाधिवेशन हुन्छ । यो महाधिवेशनबाट बाहिर निस्किनेबित्तिकै हाम्रो अगाडि लगातार तीन तहको चुनाव आउँछ,’ शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘कांग्रेस अर्काले पस्केको खाने जात होइन । हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने हो । र यो पटक कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।’ उनले महाधिवेशनबाट कांग्रेसले सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भने पनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्ने बताए । ‘सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भनेपनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्नेछ अबको ५/६ महिनाभित्रमा । त्यसैले तपाईहरुले विवेकपूर्ण निर्णय गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हामीले वडामा गरौँ या महानगरमा गरौँ । ती प्रत्येक निर्णयले अर्थ बोकेको हुन्छ । हामी पार्टीभित्र परिवर्तन चाहन्छौँ कि चाहदैनौँ ? आज कांग्रेस जसरी चलेको छ, यो ठीक छ ? हामी यो यथास्थितिमा टिकाउन चाहन्छौँ ? या परिवर्तन चाहन्छौँ ? यो हलबाट निर्णय भएर आउनुपर्छ ।’ नेता थापाले यो महाविधेशनले कांग्रेसमा शुद्धीकरण र संगठन सुदृढीकरण गर्नुपर्ने खाँचो रहेको बताए । ‘म एउटा कांग्रेसको कार्यकर्ता भएको हिसाबले ठान्दछु, आज जसरी कांग्रेस चलेको छ, यसै गरी चलेको कांग्रेसले जनतालाई भरोसा दिलाउन सक्दैन । कांग्रेसभित्र ठूलो सुधारको खाँचो छ । कांग्रेसलाई शुद्धीकरणको खाँचो छ, सुदृढीकरणको खाँचो छ,’ थापाले भने, ‘त्यो शुद्धीकरण र सुदृढीकरण यो महाधिवेशनबाट गर्नुपर्ने छ ।’ माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको पाँच दलीय गठबन्धनले आगामी चुनावमा समेत गठबन्धन कायम राख्ने बताइरहेका बेला त्यसलाई भत्काउने गरी  एक घटक काङ्ग्रेसका युवा नेता थापाले किन यस्तो दाबी गरे ? उनले दिएको चुनौतीले के संकेत गरेको छ ? यसबारे भने केही दिन कुर्नैपर्ने हुन्छ ।

images
प्रकाशित मिति :आश्विन १६, २०७८ शनिवार - १५:२०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology