Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी हुन् लाभांश घोषणा गर्ने वाणिज्य वैंक

यी हुन् लाभांश घोषणा गर्ने वाणिज्य वैंक

दैनिकी न्यूज

२४, आश्विन २०७८
यी हुन् लाभांश घोषणा गर्ने वाणिज्य वैंक
images

काठमाडौं । अहिलेसम्म ७ वटा वाणिज्य बैंक, एउटा पूर्वाधार विकास बैंक र एक विकास गरी ९ वटा बैंकले लाभांश घोषणा गरेका छन् ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका बैंकहरुमध्ये कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ भने अन्यको बढेको देखिएको छ ।

गत आर्थिक वर्षको नाफाबाट हालसम्म माछापुच्छ्रे, सानिमा, कुमारी, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एउटा विकास बैंक कामना सेवाले लाभांश घोषणा गरेका छन् । यी बैंकमध्ये कतिको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ भने कतिको स्वीकृत हुन बाँकी छ ।

हालसम्म लाभांश सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये हिमालयन बैंकले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

सबैभन्दा पहिला लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले कात्तिक २६ गतेका लागि साधारणसभा पनि बोलाइसकेको छ ।

यस्तै, सानिमा बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ । बैंकले १७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद गरी १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकले कात्तिक १४ गते आईतबार,आम्रापाली ब्यांकेट बालुवाटार काठमाडौंमा १७ औं वार्षिक साधारण सभा डाकेको हो। साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ७ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

यस्तै, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको सिटिजन्स बैंक इन्टरनेशनलले पनि सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले ११.२४ प्रतिशत बोनस र ४.७६ को नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

अर्को वाणिज्य बैंक कुमारीले ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद (कर प्रयोजनसहित) गरी ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद (करसहित) गरी कूल १३.०६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उता कामना सेवा विकास बैंकले पनि सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश समेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

यस वर्ष वाणिज्य बैंकहरूको लाभांश प्रस्ताव र साधारणसभाको मिति तयमा ढिलाइ हुनुको मुख्य कारण भदौ १५ गतेसम्मको नाफा गणना रहेको छ ।

यसअघि आर्थिक वर्ष सम्पन्न भएको मितिसम्म कायम मुनाफाबाट लाभांश वितरण गर्न सक्ने व्यवस्था रहेकामा यस वर्षदेखि भदौ १५ गतेसम्मको मुनाफालाई गणना गरेर लाभांश वितरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । 

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - ०८:५१:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology