काठमाडौं । दसैंपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आइतबार शेयर कारोबार मापन परिसूचक नेप्से १ दशमलव ५९ अंकले बढेर २६ सय ५६ दशमलव ९६ अंकमा अडेको छ। आइतबार २१८ कम्पनीको ४७ लाख ६० हजार २९५ कित्ता शेयर १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँमा कारोबार भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापन इन्डेक्स ३.१७ अंकले बढेर ४९७. ३९ विन्दुमा पुगेको छ।
यस दिन १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.५१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक २.०६ प्रतिशत बढेको छ भने व्यापार, विकास बैंक र निर्जीवन बीमाको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८ करोड ३२ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको साढे ७ करोडको शेयर कारोबार भएको छ। आजमात्र लाभांश घोषणा गरेको आइसीएफसी फाइनान्सको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।