Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेतृत्व हत्याउन नेताहरूको दिनभर दौडधूप

नेतृत्व हत्याउन नेताहरूको दिनभर दौडधूप

दैनिकी न्यूज

२३, मंसिर २०७८
नेतृत्व हत्याउन नेताहरूको दिनभर दौडधूप
images

काठमाडौं । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको भोलि शुक्रबारदेखि १४औं महाधिवेशनको कुम्भमेला लाग्दै छ । महाधिवेशनमा भाग लिने ४ हजार ७ सयभन्दा बढी प्रतिनिधिमध्ये ४ हजार ३ सय १९ जनाको नाम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ ।

नेतृत्वका लागि पर्सि शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । महाधिवेशन व्यवस्थित तरिकाले सम्पन्न गर्न गठित विभिन्न उपसमिति आ–आफ्नो जिम्मेवारीका साथ कार्य गर्दै छन् । शीर्ष नेताहरु नेतृत्व दाबी गर्दै प्यानल निर्माणको गृहकार्यमा छन् । गुट–उपगुटमा रहे पनि प्यानलमा पर्ने रणनीतिका साथ नेताहरुको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

महाधिवेशनको अन्तिम तयारीमा रहेकाले देशभरबाट कांग्रेस नेताहरु राजधानी आउने क्रम जारी छ । नीतिभन्दा पनि बढी नेतृत्वमा जोड दिँदै आएका कांग्रेसका शीर्ष नेताहरुको बुधबार दिनभरको दौडधूप नेतृत्वकै विषयमा केन्द्रित रह्यो । गुट–उपगुटमा विभाजित कांग्रेस नेताहरु महाधिवेशनमा कसरी जित्ने भन्ने ध्याउन्नमै दौडधूप गरिरहेका छन् ।

कांग्रेसभित्र खास गरी वर्तमान सभापति शेरबहादुर देउवा पक्ष (जसलाई संस्थापन पक्ष पनि भनिन्छ), वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्ष छन् । पछिल्लो समय संस्थापन पक्षबाट छुट्टिएर उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबी गर्दै छुट्टै गुट निर्माण गरिरहनुभएको छ । कांग्रेसभित्र प्रभावशाली नेताहरुको थप उपगुट पनि छ । पार्टीभित्रको गुट उपगुट केन्द्रदेखि गाउँ तहसम्म फैलिएको छ ।

कांग्रेस विधानमा सभापतिसहित चौध पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारीका रूपमा उपसभापति र महामन्त्री दुईरदुई, कोषाध्यक्ष एक र सहमहामन्त्री आठ जना छन् । जसमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्छ । सभापतिले मनोनित गर्ने ३३ जनाबाहेक १ सय २१ जना केन्द्रीय सदस्य पनि अधिवेशनबाट निर्वाचित हुनुपर्छ । संस्थापन पक्षबाट सभापतिमा देउवा पुनः उम्मेदवार हुने निश्चित भए पनि पदाधिकारी छान्न सकस भइरहेको छ भने पौडेल समूहले सभापतिकै उम्मेदवार तय गर्न सकेको छैन । दिनभरको छलफलबाट पौडेल समूहबाट चारमध्ये दुई आकांक्षी बाँकी छन् । आफ्नो समूहबाट एकमात्र साझा उम्मेदवार दिन नसके नेतृत्व पुनः देउवालाई बुझाए हुने भनी स्वीकार गरेका पौडेल समूहबाट प्रकाशमान सिंह र डा। शेखर कोइराला एकले अर्कोलाई स्वीकार्ने सहमति जुट्न सकेको छैन ।

पदाधिकारी छनोटका लागि सभापति देउवाले बुधबार आकांक्षी नेताहरुसँग छलफल गर्नुभएको छ । देउवा पक्षभित्र पदाधिकारीका आकांक्षी नेता धेरै छन् । लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएका विजयकुमार गच्छदार, राप्रपाबाट कांग्रेसमा समाहित भएका सुनीलबहादुर थापा मात्र होइन गुट मिलाउन सिटौलालाई पनि सम्मानजनक पद दिनुपर्ने बाध्यतामा रहेका देउवालाई पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मालगायत प्रभावशाली नेताहरुको व्यवस्थापनमा सकस छ ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा रामकृष्ण चापागाईंले लेखेका छन् ।

images
प्रकाशित मिति :मंसिर २३, २०७८ बिहिवार - ०७:१२:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology