काठमाडौं । नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।
देउवा दोस्रो चरणमा आफूलाई समर्थन गर्न भन्दै मंगलबार बिहान निधि निवास वानेश्वर पुगेका थिए । निधिले आफ्नो समर्थन देउवालाई नै हुने बताएका छन् ।
संवादपछि निधिले पनि देउवालाई समर्थनको प्रतिबद्धता जनाएका छन् । यसअघि प्रकाशमान सिंहले देउवालाई समर्थन गरिसकेका छन् ।
पहिलो चरणको निर्वाचनमा सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।
पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ।
पहिलो चरणमा देउवाले २२ सय ५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७ सय २९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा ५ जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्।
१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।