काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। उद्घाटन कार्यक्रममा विभिन्न ११ राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको ढकालले जानकारी दिए।
ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत ११ पार्टीलाई निमन्त्रणा गरिएको हो।
‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौं राष्ट्रिय महाधिवेशन’ भन्ने नारासहित हुने उद्घाटन सत्रको प्रज्ञा भवन परिसरमा डिस्प्लेमार्फत प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ।
महाधिवेशनमा सहभागी हुन सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौं आइसकेका छन्। तीन दिनसम्म चल्ने महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन्। उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुने माओवादी केन्द्रले जनाएको छ।
सम्मेलनमा कुल एक हजार ६३१ को सहभागिता रहने जनाइएको छ। नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कुल एक हजार ६३१ को सहभागिता रहने भएको हो।
माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन्। महाधिवेशनबाट नेतृत्व चयन गर्ने कार्यक्रम समेत रहेको छ। माओवादीले सहभागीलाई खाजाको मात्रै व्यवस्था गरेकोले प्रतिनिधिलाई आफैँ खाने र बस्ने प्रबन्ध गर्न भनेको छ।