Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी महाधिवेशनः यथास्थितिको निरन्तरता

माओवादी महाधिवेशनः यथास्थितिको निरन्तरता

दैनिकी न्यूज

१९, पौष २०७८
माओवादी महाधिवेशनः यथास्थितिको निरन्तरता
images

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन २ सय ३६ केन्द्रीय सदस्य चयन गर्दै सम्पन्न भएको छ। पुस ११ देखि काठमाडौंमा सुरु भएको महाधिवेशन आइतबार नयाँ केन्द्रीय सदस्य घोषणा गर्दै सकिएको हो। सैद्धान्तिक र नेतृत्व चयनमा नयाँपनबिनै महाधिवेशन औपचारिकतामा सीमित हुन पुगेको छ। अध्यक्ष पुष्पकमल दाहालले पुस १२ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टी र मुलुकलाई दिशानिर्देश गर्नेभन्दा पनि औपचारिकता निर्वाह गरिएको छ।

उक्त प्रतिवेदनमाथि सुझाव र फरक मत प्रकट भए पनि दाहालकै प्रतिवेदन बन्दसत्रबाट सर्वसम्मत पारित भयो। माओवादीले लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताउँदै आए पनि जनवादी केन्द्रीयताको अभ्यास गर्दै नयाँ कमिटी घोषणा भएको होे। केन्द्रीय कमिटी गठनमा लोकतान्त्रिक अभ्यास हुनसक्ने बताइए पनि अन्तिममा दाहालको प्रस्तावलाई नै बन्दसत्रले अनुमोदन गरेको छ। अध्यक्ष दाहालले खुलातर्फ १ सय ११ र समानुपातिकतर्फ १ सय २५ केन्द्रीय सदस्यको नाम बन्दसत्रमा पेस गरेका थिए।


बाँकी करिब १५ प्रतिशत केन्द्रीय सदस्यको नाम भने अझै टुंगिएको छैन। त्यसलाई पनि छिटै टुंग्याउने दाहालले बताएका छन्। केन्द्रीय सदस्यको नाम घोषणा गरेसँगै दाहालले बन्दसत्रमा सहमतिमै केन्द्रीय सदस्य टुंग्याउने आफ्नो प्रतिबद्धतालाई जसोतसो पार लगाएको बताएका छन्। उनको यो भनाइले पनि महाधिवेशन र केन्द्रीय सदस्य चुन्ने प्रक्रियामा जनवादी केन्द्रीयताकै अभ्यास गर्न चाहेको देखाउँछ। माओवादी केन्द्रले महाधिवेशनमार्फत चुनिएका केन्द्रीय सदस्यको पहिलो बैठकमार्फत सोमबार पदाधिकारीको टुंगो लगाउने भएको छ।


ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने केन्द्रीय समिति बैठकले अध्यक्षसहित १५ जना पदाधिकारीको टुंगो लगाउनेछ। दाहालले पदाधिकारी चयन पनि सहमतिमै हुने बताउने गरेका छन्। उनले आइतबारको बन्द सत्रमा केन्द्रीय सदस्यको नाम घोषणा गर्दै भने, ‘विधानअनुसार केन्द्रीय समितिले पदाधिकारीको विषय टुंग्याउने हो। कतिपयले आजै टुंगो लगाऊँ भनेका थिए। सोमबार नयाँ केन्द्रीय समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारीको टुंगो लगाइनेछ। पदाधिकारीमा करिबकरिब सहमति भइसकेको छ।’ यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - ०७:१८:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology