काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ ।
कोरोना भाइरस संक्रमितको सङ्ख्या ह्वात्तै बढेपछि भारतको गुजरातमा हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएसंगै प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित गरिएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।
भाइब्रेन्ट गुजरातमा सहभागी हुन प्रधानमन्त्री देउवालाई भारतबाट निमन्त्रणा आएको थियो । उक्त सम्मेलनमा सहभागी हुन देउवा जनवरी ९ मा गुजरात जाने कार्यक्रम तय भएको थियो ।
गुजरातमा सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवा भेट्ने कार्यक्रम समेत तय भएको थियो ।
बाह्य लगानी आकर्षित गर्ने उद्देश्यले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गरेको उक्त सम्मेलनको १०औँ शृङ्खलामा प्रधानमन्त्री देउवासहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखहरुले भाग लिने कार्यक्रम थियो ।