काठमाडौं । यही पुस २५ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बैठक माघ ८ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठक स्थगित भएसंगै पदाधिकारी चयन अनिश्चित बनेको छ ।
भर्खरै काठमाडौँमा सम्पन्न पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा सहभागी १५ नेता बिरामी परेकाले आगामी २५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगत गरिएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
बिरामीमध्ये ९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यालयका लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि नै अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भेटघाट बन्द गरेका छन् ।
यही पुस ११–१८ मा सम्पन्न आठौँ महाधिवेशनले माओवादी केन्द्रको २४६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । त्यसपछि पुस २० गते बसेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको अध्यक्ष पदमा प्रचण्डलाई निर्विरोध चयन गर्यो ।
अब वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन गर्न बाँकी छ ।
यसबारे निर्णय गर्न यही पुस २५ गते केन्द्रीय बैठक राख्ने निर्णय भएको थियो ।