ललितपुर । जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको ९औँ साधारण सभा स्थगित गर्न आदेश दिएको छ । संघका सचिव माधवप्रसाद तिमल्सिनाले उपाध्यक्ष र केही पदाधिकारीहरुको बैठकले गरेको निर्णयको हवाला दिँदै २९ गते साधारण सभा गर्ने घोषणा गरेका थिए ।
उनले आज बिहान पत्रकार सम्मेलन आयोगना गरी साधारणसभा गर्ने बताएका थिए । संघको नियमविपरीत साधारणसभा आयोजना गर्न लागेपछि जिल्ला अदालतले सो साधारण सभा हाललाई नगर्नु/नगराउनु र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।
सो आदेशपछि सचिव तिमल्सिनालगायतको समूहले गर्ने साधारण सभा स्थगित भएको छ । न्यायाधीश चुरामन खड्काको एकल इजलासले साधारण सभामा २८ वटा थप संस्थालाई सहभागी गराउने सम्बन्धमा त्यसरी थप सदस्यता प्रदान गर्नबाट रोक लगाउनेलगायतका विषयहरु उल्लेख गरी सहकारी विभागमा उजुरी परी त्यसको निर्णय नभएको अवस्थामा र सदस्य संख्या नै विवादित भएको अवस्थामा सो साधारणसभा गर्नु उचित नदेखिएकोआदेशमा उल्लेख छ ।
सो आदेशमा भनिएको छ–कोभिड संक्रमण तीव्र गतिमा फैलिएको अवस्थालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म २५ जना भन्दा बढी भेला गर्न समेत रोक लगाएको अवस्थामा संघको साधारणसभा हाललाई नगर्न आदेश दिएको छ ।

