काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान नगरेपछि एनआईसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ को लाभांश वितरणसम्बन्धी निर्णय रद्द गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांशसम्बन्धी निर्णयलाई रद्द गरेको हो। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागबाट बैंकको क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको जनाउँदै लाभांश घोषणा तथा वितरणसम्बन्धी प्रस्ताव स्वीकृत नभएको जानकारी एनआईसी एसिया बैंकलाई पठाएको थियो। सोही कारण लाभांश वितरणसम्बन्धी निर्णय रद्द गर्नुपरेको बैंकले जनाएको छ।
बैंक सञ्चालक समितिको गत कात्तिक ८ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १५.७८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा १५ प्रतिशत बोनस सेयर र ०.७८९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका थिए।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने निर्णयसहित बैंकले स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको थियो।
निर्णयबाट सेयरधनी लगायत सम्पूर्ण सरोकारवालाहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।