काठमाडौं । राष्ट्रिय सभा सदस्यमा रिक्त रहेका १९ पदका लागि भोलि (बुधबार) निर्वाचन हुँदैछ । यही फागुन २० गतेबाट रिक्त हुन लागेका १९ पदमा बुधबार निर्वाचन हुन लागेको हो । यी पदमा ४३ जनाको उम्मेदवारी परेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ ।
फागुन २० गतेबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेका तर्फबाट रिक्त हुँदै छ । त्यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि सकिँदै छ । तर, गठबन्धनसहित अघि बढेका सत्तारूढ दललाई राष्ट्रिय सभा निर्वाचनमा थप नाफा हुने देखिँदा एमालेलाई भने चुनौती थपिएको छ ।