ललितपुर । अदालतबाट ८ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका वडा नं. २ शंखुका ४४ वर्षीय भीम बहादुर लामा छन् ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले ८ लाख जरिवाना र २ दिन कैद ठहर गरेपछि फरार रहेका लामालाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले माघ १४ गते शुक्रबार ललितपुर–१५ सातदोबाटोबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उच्च अदालत पाटनको २०७८ भदौ १ को फैसलापछि दुई दिन कैद र बिगोबमोजिम ८ लाख जरिवाना ठहर गरेपछि फरार रहेका लामालाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका लामाले आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा नहुदै झुक्याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले लामालाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।
पक्राउ परेका लामालाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।