काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री देउवाको निम्तोमा एमाले अध्यक्ष ओली आइतबार अपराह्न बालुवाटार पुगेका हुन्। तीन नेताबीच अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता र आसन्न स्थानीय निर्वाचनबारे छलफल हुने जनाइएको छ।
खासगरी एमसीसीको विषयले सत्ता गठबन्धनका दलहरुबीच विवाद देखापरेका बेला प्रधानमन्त्री देउवाले प्रतिपक्षी नेतालाई समेत छलफलका लागि बालुवाटार बोलाएका बोलाएका हुन्।
एमसीसी सम्झौता अनुमोदन गर्ने प्रतिबद्धतासहित देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई गत असोजमा पठाएको संयुक्त पत्र सार्वजनिक भएपछि गठबन्धनमा तरंग पैदा भएको छ।
एमसीसी मुख्यालयले गत बिहीबार देउवा र प्रचण्डलाई पत्र पठाएर असोजमा पठाइएको पत्रमा व्यक्त प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ। एमसीसीले आउँदो फागुन १६ भित्र सम्झौता अनुमोदन गर्नुपर्ने ‘डेडलाइनसमेत स्मरण गराएको छ।