काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आइतबार साँझसम्म ४४ गुणा बढीले आवेदन दिएका छन् । सीडीएससीका अनुसार आइतबार साँझ ५ बजेसम्म यो आईपीओमा १७ लाख ५४ हजार ५१७ आवेदकले २ करोड १७ लाख ४९ हजार ४९० कित्ता सेयर माग गरेका छन्। जुन कुल मागको ४४.५८ गुणाले बढी हो।
कम्पनीले गत माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँको आईपीओमा आवेदन खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको छ। जसमध्ये जारीपुँजीको ०।५ प्रतिशतले हुन आउने ८ हजार कित्ता कर्मचारीका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशतले हुन आउने २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणका आवेदन दिन पाउनेछन्।
यो आईपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २०० कित्तासम्म आवेदन दिन पाउनेछन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।
यो आईपीओको निष्कासन बन्द माघ २५ गते हुनेछ।
यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
पोखरामा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ। संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा सो शेयर निष्काशन पश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ।