Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सत्ता गठबन्धनमा फेरि खटपट,‘टेबुल’ भएन एमसीसी

सत्ता गठबन्धनमा फेरि खटपट,‘टेबुल’ भएन एमसीसी

दैनिकी न्यूज

५, फाल्गुण २०७८
सत्ता गठबन्धनमा फेरि खटपट,‘टेबुल’ भएन एमसीसी
images

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न रातारात एक भएका गठबन्धन आबद्ध दलहरू एमसीसीको विषयमा फेरि विभाजित बनेका हुन् ।

सरकारले बुधबारको बैठकमार्फत संसद्मा एमसीसीसम्बन्धी प्रस्ताव टेबुल गर्ने तयारी गरेको थियो । तर, गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले सहमति नगरी एमसीसी टेबुल गरिए सरकार छाड्नेसम्मको चेतावनी दिएपछि सरकार प्रस्ताव पेस गर्नबाट पछि हटेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले समेत बुधबारको संसद्को कार्यसूचीमा एमसीसीसम्बन्धी विषय समावेश नगरेपछि सो प्रस्ताव संसद्को प्रक्रियामा नै अघि बढेन । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था समितिको बैठकमा समेत एमसीसीमा सहमति नजुटेपछि उनले कार्यसूचीमा नराखेका हुन् ।

कार्यव्यवस्था समितिको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी टेबल गर्नुपर्नेमा जोड दिएका थिए भने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ एमसीसीका प्रावधान संशोधन नभई पेस गर्न नहुने अडानमा उभिएका थिए । बैठकको अन्त्यमा सभामुख सापकोटाले सहमति नजुटेको भन्दै एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय सुनाएका थिए ।

सत्तारूढ गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले भने एमसीसीलाई संसद्बाट अघि बढाउने निर्णय औपचारिक रूपमा मंगलबार नै गरेको थियो । गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि एमसीसीमा असहमति जनाउँदै आइरहेको छ । तर, गठबन्धनमा रहेको जसपाले भने एमसीसीमा सहमति जनाइसकेको छ ।

यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - ०५:३३:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology