Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गठबन्धन नजोगिए एमालेसँग सम्बन्ध गाँस्ने देउवाको रणनीति

गठबन्धन नजोगिए एमालेसँग सम्बन्ध गाँस्ने देउवाको रणनीति

दैनिकी न्यूज

११, फाल्गुण २०७८
गठबन्धन नजोगिए एमालेसँग सम्बन्ध गाँस्ने देउवाको रणनीति
images

काठमाडौं । एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनलाई मनाउन लागेकै छन्। तर, माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएका छन्। त्यही भएर प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट बढाएका छन्। देउवा र ओलीबीच मंगलबार भेटवार्ता भए पनि सहमति भने नभएको नेताहरूले बताएका छन्।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले एमसीसी र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। ‘प्रधानमन्त्रीजीले तपाईंहरूकै पालाको सरकारमा संसद्मा दर्ता भएको हो। अब पास गर्न पनि तपाईंहरूको सहयोग चाहिन्छ भन्नुभयो’, नेता खड्काले भने।

ओलीले पहिला आफ्ना माग सम्बोधन हुनुपर्ने अडान लिएको खड्काले सुनाए। ‘सभामुखलाई कारबाही हुनुपर्ने र पार्टीले पदमुक्त गरेका सांसदलाई कारबाही गरेपछि एमसीसीका विषयमा एउटा धारणा बनाउनेछौं भन्नुभयो। ठोस निर्णय केही भएन’, उनले भने।

एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो माग पूरा नभएसम्म अन्य विषयमा जान नसकिने स्पष्ट पारेको बताए। ‘प्रधानमन्त्रीले एमसीसी पास गर्न सहयोग माग्नुभयो। हामीले हाम्रा माग पहिला सम्बोधन हुनुपर्छ भन्यौं’, नेता रिमालले भने, ‘मुख्य यिनै दुई कुरा भए।’

दुई नेताबीच माघ २३ यता तेस्रो भेट हो यो। ओली माघ २३ गते सात महिनापछि बालुवाटार गएका थिए। देउवा फागुन ५ गते ओली निवास बालकोट पुगेका थिए। देउवाले ओलीसहित नेतालाई सुरुमा एकसाथ भेट गरेका थिए। अन्तिममा केही मिनेट प्रधानमन्त्री र ओलीबीच मात्रै छुट्टै छलफल भएको स्रोतले बताएको छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - ०७:३९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology