Logo

आइतवार, श्रावण २४ गते २०८३

images

महाशिवरात्रिको व्यापक तयारी

महाशिवरात्रिको व्यापक तयारी

दैनिकी न्यूज

१६, फाल्गुण २०७८
महाशिवरात्रिको व्यापक तयारी
images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गर्नुभयो । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सीदा, त्रिशूल, कमान्डलु, पीताम्बर, जटायुक्त नरिवल, रामनामीलगायतका सामग्री राष्ट्रपतिबाट सङ्कल्प भएको छ ।

पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख सुशीला शर्माको अगुवाइमा अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलले परम्पराअनुसार सङ्कल्प सामग्री खर्पनमा राखेर राष्ट्रपति निवास पुग्नुभएको थियो । सङ्कल्प पूजापछि गोश्वारा प्रमुख कर्मचारीलाई पुरोहितले टीका लगाएर राष्ट्रपतिबाट उहाँहरूलाई दक्षिणा प्रदान गर्नुभयो ।

राष्ट्रपतिबाट सङ्कल्प पूूजा भएपछि त्रिदिवसीय महाशिवरात्रि पर्व सुरु भएको छ । यो सुरुवातसँगै पशुपतिमा आएका साधुसन्तले बिहान शोभायात्रा गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अगुवाइमा शोभायात्रा भएको थियो । शोभायात्रालगत्तै पशुपति क्षेत्र विकास कोषले एक पत्रकार सम्मेलन आयोजना गरेर महाशिवरात्रि पर्वको पूर्वतयारी कार्य सकिएको जानकारी दिएको छ ।

महाशिवरात्रि पर्वका दिन मङ्गलबार बिहान ३ः०० बजे नै पशुपतिनाथ मन्दिरको चारै ढोका खुला हुन्छ भने महाशिवरात्रिको चारै प्रहर भक्तजनलाई पङ्क्तिबद्ध भएर पशुपतिनाथको दर्शन व्यवस्था मिलाइएको जानकारी कोषका कोषाध्यक्ष नारायण सुवेदीले दिए ।

कोरोनाबाट बचाउ गर्न भक्तजन र दर्शनार्थीलाई अनिवार्य मास्क र भौतिक दूरी कायम गर्नुपर्ने गरी अनुगमन व्यवस्था मिलाइएको छ । पशुपतिनाथ दक्षिणढोका, पश्चिम रुद्रगाडेश्वरबाट दर्शनार्थीलाई मन्दिर प्रवेश मिलाइएको छ ।फाल्गुण कृष्ण एकादशीका दिन आइतबार बिहानै नागाबाबा सर्वाङ्ग भएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - ०६:५६:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology