Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जिल्ला न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत

जिल्ला न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत

दैनिकी न्यूज

१८, फाल्गुण २०७८
जिल्ला न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत
images

काठमाडौं । निर्वाचन आयोगले जिल्लामा निर्वाचन सम्पन्न गराउने प्रतिनिधिका रूपमा रहने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न तयारी थालेको छ । न्याय परिषद्ले सिफारिस गरी ४ सय ६७ जनाको नामावली पठाएपछि आयोगले सोको तयारी थालेको हो । परिषद्ले स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रूपमा खटाउन ४ सय ६७ जना नाम सिफारिस गरी सोमबार आयोगमा पठाएको थियो ।

आयोगको आग्रहमा परिषद्ले सिफारिस गरी पठाएको नाममाथि आयोगले अध्ययन गरिरहेको आयोगले जनाएको छ । प्रत्येक जिल्लाका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका लागि आयोगलाई सिफारिस गरी पठाएको छ । कुनै न्यायाधीश बिरामी परेको अवस्था वा विशेष कारणवश मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पूरा गर्न नसक्ने भएमा अन्य न्यायाधीशलाई खटाउनका लागि १५ जना न्यायाधीशलाई जगेडामा पनि राखिएको छ । एक न्यायाधीश मात्रै रहने जिल्लामा ती जिल्लाका न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत बन्नेछन् ।

त्यसै गरी, निर्वाचन अधिकृतका लागि परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट ३ सय ७५ जनाको नाम सिफारिस गरी निर्वाचन आयोगलाई पठाइएको छ । परिषद्ले न्याय समूहबाट १ सय ७९ जना, कानुन समूहबाट ४९ र सरकारी वकिल समूहबाट १ सय ४७ उपसचिवहरुलाई निर्वाचन अधिकृतका रूपमा खटाउन आयोगलाई सिफारिस गरी पठाएको हो ।

यसैको आधारमा आयोगले सम्बन्धित जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र उपसचिवहरूलाई आवश्यकताअनुसार निर्वाचन अधिकृतका रूपमा स्थानीय तहमा खटाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगका अनुसार करिब ६० दिन काम गर्ने गरी निर्वाचन अधिकृतहरुलाई नियुक्त गर्नेछ । आगामी चैत १० गतेदेखि नियुक्त गर्ने र त्यसलगत्तै उनीहरुले काम थाल्ने आयोगको तयारी रहेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले स्थानीय तहको निर्वाचन सकेर जिल्ला समन्वय समितिको निर्वाचनसमेत गराई करिब १५ जेठको आसपासमा नियमित काममा फर्कनेछन् ।

परिषद्ले कुनै जिल्लामा सोही जिल्लामा कामकाज गरिरहेका न्यायाधीश काममा खटिन नसक्ने भएकाले केही स्थानका लागि उच्च अदालतका न्यायाधीशलाई पनि मुख्य निर्वाचन अधिकृत तोेकेको छ । स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ८ ९२० मा भनिएको मुख्य निर्वाचन अधिकृतले आफूलाई तोकिएको जिल्लाको सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारको प्रयोगसमेत गर्नेछन् ।

स्थानीय तह निर्वाचन ऐनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन सम्पन्न गराउने आयोगको प्रतिनिधिका रूपमा तोकिएको छ । ऐनमा उनीहरुको काम आयोगको निर्देशनको अधीनमा रही आफूलाई तोकिएको जिल्लाभित्रको निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरीवेक्षण गरी आवश्यक निर्देशन दिने भनी उल्लेख छ । निर्वाचन अधिकृतले नै सहायक निर्वाचन अधिकृत, मतदान अधिकृतलगायत अरू कर्मचारी नियुक्त गर्छन् ।

यसैबीच आयोगले स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न गाउँपालिका÷नगरपालिकासँग समन्वय गरी जिल्ला प्रशासन कार्यालयबाट आवश्यक व्यवस्था गराउन सरकारलाई आग्रह गरेको छ । आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोका लागि पत्र लेखी पठाएको आयोगका प्रवक्ता पौडेलले बताए ।

यो खबर आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - ०७:२०:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology