काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले गत फागुन २२ गतेदेखि आफ्ना सेयरधनीका लागि हकप्रद निष्कासन गरेको छ। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।
आइएमई समूहको मुख्य लगानी रहेको कम्पनीले हाल कायम चुक्तापुँजीको ४० प्रतिशतको दरले हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गरेको छ। हाल यो कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको छ। यसैको ४० प्रतिशतको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले हकप्रद शेयर प्रयोजनार्थका लागि फागुन १ गते बुक क्लोज गरेको थियो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
यो कम्पनीको हकप्रद ‘मेरो सेयर’बाट भर्न सकिन्छ। आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।