काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री देउवा आज तीनदिने भारत भ्रमणमा गएपछि प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठतम मन्त्री गृहमन्त्री खाणलाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि सम्वत् २०७८ साल चैत्र १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा गृहमन्त्री बालकृष्ण खाँणज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारतको तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।