काठमाडौं । आसन्न स्थानीय तहको चुनावको लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ।
निर्वाचन आयोगले सार्वजनिक गरेको चुनाव सम्बन्धि कार्यतालिकाअनुसार शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ।
देशभरका ७५३ पालिकाका ३५ हजार दुई सय २१ पदका लागि एक लाख ५३ हजार एक सय ६७ जनाको उम्मेदवारी दर्ता भएको छ।
आज साँझ अन्तिम नामावली प्रकाशित भएपछि भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ।
कतिपय स्थानीय तहमा सत्ता गठबन्धनका दलबीच पनि उम्मेदवारी फिर्ताको लागि छलफल भइरहेका छन्।
मेयर पदका लागि तीन हजार पाँच सय १८ जनाले उम्मदेवारी दिएका छन्।
त्यसैगरी गाउँपालिका अध्यक्षका लागि तीन हजार तीन सय ९२, उपमेयरका लागि दुई हजार एक सय ७४, उपाध्यक्षका लागि दुई हजार चार सय सात, वडाध्यक्षका लागि ३५ हजार तीन सय ८७, महिला सदस्यका लागि २६ हजार पाँच सय ५८, दलित महिला सदस्यका लागि २३ हजार नौ सय ५९ र सदस्यका लागि ५५ हजार सात सय ७२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
मेयर, अध्यक्षसहितका विभिन्न पदमा धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको छ।