काठमाडौँ । एक महानगरसहित ६ सय ८३ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । शनिबार बिहानसम्ममा मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६ सय ८३ स्थानको परिणाम सार्वजनिक भएको हो । गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो । त्यसयता लगातार मतगणना भइरहेको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को वडाध्यक्ष पदमा विजयी भएका नेपाली कांग्रेसका वीरेन्द्रकुमार साह । तस्बिरः नारायणी रजौरेररासस
परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा देखिएको छ । दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले ११६ पालिका प्रमुख जितेको छ । यस्तै जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको निर्वाचन आयोगले जनाएको छ । राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले २७ स्थानमा जितेका छन् ।
जारी मतगणनामा प्रमुखतर्फ कांग्रेस १९, एमाले १७, माओवादी ७, जसपा ११, एकीकृत समाजवादी २, लोसपा ६ र अन्य दलले ५ स्थानमा अग्रता लिइरहेका छन् ।
उपप्रमुखतर्फ कांग्रेस २७९, एमाले २१२, माओवादी १२०, जसपा २५, एकीकृत समाजवादी २१, लोसपा ९ र अन्यले १७ पालिकामा जितेका छन् । अझै काठमाडौं, भरतपुर, पोखरासहित ५ महानगर र ६५ गाउँपालिकाको परिणाम बाँकी छ ।