काठमाडौ । १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी–६, ट्विनअटर विमान आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा(जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०ः१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै सम्पर्कविहीन बन्यो।
सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ। विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको छ। एकजना अझै हराइरहेको प्रहरीले बताएको छ। चट्टानमा ठोक्किएर खोंचमा विमान खसेकाले उद्धार र शव निकाल्न कठिनाइ भएको प्रहरीले बताएको छ। दुर्घटना स्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार दुर्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा थियो । करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठोक्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको उनले बताए। आजको नागरिक दैनिकमा समाचार छ ।