रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृत्यू भएको छ । चन्द्रपुर–२ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।
बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनाको मृत्यू भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन्।
दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सविना लुंगेलीको चन्द्रपुर अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगन्ज पठाइएको छ ।
प्रहरीले बस तथा चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरू गरेको छ।