काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिना निष्कर्ष सकिएको छ। शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि बैठक निष्कर्ष बिना नै सकिएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको बारेमा लगभग टुंगो लागि सकेपनि निर्णय भने भइनसकेको जानकारी दिए।
उनले आगामी निर्वाचनको विषयमा पनि बैठकमा विस्तृत छलफल भएको बताए। उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण पनि पदाधिकारीको टुंगो लाग्न नसकेको बताए। माओवादी केन्द्रको बैठक केही दिन यता पदाधिकारी टुंगो लगाउने भन्दै निरन्तर बसिरहेको छ।
बैठकमा पदाधिकारी र कार्यक्रमबारे गम्भीर रूपले छलफल भएको र शनिबार पुनः बैठक बस्ने उनले बताए । उनले भने, ‘आजको स्थायी समिति बैठकमा पदाधिकारी र कार्यक्रमका बारेमा गम्भीर रूपले छलफल गर्यौँ । पदाधिकारीमा टुंगो भने लागेको छैन । सबै विषयमा छलफल भएको छ । शनिबार दिउँसो १ बजे पुनः बैठक बोलाइएको छ ।'
अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताले बैठक छोट्याइएको पनि उनले बताए ।