काठमाडौं । सत्तारूढ गठबन्धन दलले मंसिर ४ को चुनावको प्रचार संयुक्त गर्ने भएका छन् । त्यसका लागि गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन नारा तय गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेतासहित बसेको गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारा दिएर चुनावमा होमिने निर्णय गरेको हो । यस्तै बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । जसअनुसार कार्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा (११ बजे, नेकपा(एस) ले व्यवस्थापन गर्ने), कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवल (२ बजे - नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने), कार्तिक ५ गते विराटनगर (११ बजे- नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्न), कार्तिक ५ गते २ बजे जनकपुर (लोसपालाई पनि आमन्त्रण गर्ने र व्यवस्थापन नेपाली काङ्ग्रेसले गर्ने, कार्तिक ६ गते धनगढी (११ बजे व्यवस्थापन नेकपा(माओवादी केन्द्र)ले गर्ने), कार्तिक ६ गते सुर्खेत ( २ बजे, नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने) र कार्तिक ७ गते काठमाडौँ (११ बजे - नेकपा(माओवादी केन्द्र) ले व्यवस्थापन गर्ने) भएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३/३ जना सहभागी हुने निर्णय गरिएको छ । त्यस्तै जुन पार्टीले व्यवस्थापन गर्ने हो उसले भेलाको आयोजना गर्नेछ । भेलामा प्रमुख नेताहरु वक्ताहरू हुनेछन् ।