Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर नपाउनेसँग आस्बा शुल्क नलिन माग

शेयर नपाउनेसँग आस्बा शुल्क नलिन माग

दैनिकी न्यूज

२८, कार्तिक २०७९
शेयर नपाउनेसँग आस्बा शुल्क नलिन माग
images

काठमाडौं । सार्वजनिक निष्कासनका धितोपत्र खरीदमा लाग्ने आस्बा शुल्क धितोपत्र पाउनेको हकमा मात्र लागू गर्न लगानीकर्ताले माग गरेका छन् । सार्वजनिक निष्कासनका धितोपत्र खरीदका लागि आवेदन दिनेको संख्या बढ्दा धितोपत्र पर्ने सम्भावना कम हुँदै गएकाले बाँडफाँटमा परेका आवेदकबाट मात्र आस्बा शुल्क संकलन गर्न लगानीकर्ताले माग गरेका हुन् ।

लगानीकर्ताको मागबमोजिम नेपाल धितोपत्र बोर्डले अधिकतम सय रुपैयाँसम्म रहेको आस्बा शुल्क घटाएर अधिकतम ५ रुपैयाँ कायम गरेको छ । बोर्डले गत भदौमा धितोपत्र खरीद ९सार्वजनिक निष्कासन० सम्बन्धी निर्र्देशिका, २०७३ मा तेस्रो संशोधन गरी यसअघिको न्यूनतम १० रुपैयाँदेखि सय रुपैयाँसम्मको आस्बा शुल्क घटाएर अधिकतम ५ रुपैयाँसम्म कायम गरेको हो । पछिल्लो समय सार्वजनिक निष्कासनमा आएका शेयर खरीदका लागि लाखौं लगानीकर्ताको आवेदन पर्ने गरेको छ । एकजना आवेदकलाई न्यूनतम १० कित्ता बाँडफाँट गर्नैपर्ने नीतिका कारण कम आवेदकले मात्र गोला प्रणालीबाट शेयर पाउने गरेकाले नपाउने लाखौं लगानीकर्ताबाट शुल्क लिन नहुने लगानीकर्ताको तर्क छ ।

अगुवा लगानीकर्ता छोटेलाल रौनियारले पछिल्लो समय बाँडफाँटमा शेयर पाउने लगानीकर्ताबाट भन्दा नपाउनेबाट आस्बा शुल्क बढी संकलन भएको बताए । उनले हालै भएको इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँटको उदाहरण दिँदै उक्त कम्पनीको शेयर पाउनेभन्दा नपाउने आवेदकले बढी आस्बा शुल्क तिरेको बताए । उनको अनुमानमा उक्त कम्पनीको शेयर नपाउने १२ लाख ९५ हजारभन्दा बढी आवेदकले ६४ लाख ७५ हजार रुपैयाँ आस्बा शुल्क तिरेका छन् । शेयर पाउने ६२ हजार ५ सय १९ जनाबाट ३ लाख १२ हजार रुपैयाँभन्दा केही बढी मात्र आस्बा शुल्क संकलन भएको छ । यसरी हेर्दा शेयर नै नपाउने लाखौं लगानीकर्ताबाट आस्बा सदस्यले लाखौं रकम असुल गर्नु अन्याय हुने रौनियारको तर्क छ । यो खबर आजको आर्थिक अभियानमा प्रजिता बुढाथोकीले लेखेकी छिन् ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - ०६:५८:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology