ललितपुर । ललितपुर बार एसोसिएसनको चुनाव जारी छ । नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाश महर्जनले जानकारी दिए ।
नयाँ नेतृत्वको लागि राम श्रेष्ठको नेतृत्वमा नेकपमा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील पेशागत कानुन व्यवसायी समूहहरुको छुट्टै प्यानल छ भने नेकपा एमाले, नेपाली कांग्रेस र एकीकृत समाजवादीको प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशीकुमार कार्कीको प्यानल प्रतिस्पर्धामा छ ।
मुख्य निर्वाचन अधिकृत महर्जनले ४ बजेसम्म मतदान हुने र आजै मतगणना सुरु गर्ने बताए । यो समाचार तयार गर्दासम्म करिब २०० मत खसेको महर्जनको भनाई छ ।
‘भ्रष्टचारमुक्त, स्वतन्त्र, निष्पक्ष, सक्षम र जवाफदेही न्यायपालिका हाम्रो प्रतिबद्धता’ नारासहित गणतान्त्रिक, प्रगतिशील, पेशागत समूहबाट उपाध्यक्षमा बाबुकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता शेर्पा, कोषाध्यक्षमा रमेशकुमार महर्जनले चुनावी मैदानमा छन् । महिला सदस्यमा अष्ट कुमारी महर्जन र सुशीला कार्की तथा खुल्ला सदस्यहरूमा भूमेराज आलेमगर, ईच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, राजु अधिकारी, जीवन कुमार बस्नेत, विराज थापा र विपना योगी चुनावी मैदानमा छन् ।
त्यस्तै यता ‘लोकतान्त्रिक संस्कार एवं पेशागत मर्यादा सहितको बार स्वतन्त्र, सुदृढ सक्षम एवं भ्रष्टाचारमुक्त न्यायपालिका हाम्रो आधार’ नारासहित पेशागत प्रगतिशिल, लाकतान्त्रिक, समाजवादी एवं समावेशी समूहबाट उपाध्यक्षमा प्रमोद कुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा सजनी श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, उम्मेदवारी दिएका छन् भने महिला सदस्यहरुमा सावन्ता थापा र शिरिसा श्रेष्ठका साथै खुल्ला सदस्यहरुमा सुभाषचन्द्र राई, दिपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, लिलानाथ घिमिरे, विष्णुकुमार गिरी, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकी चुनावी प्रतिस्पर्धामा छन् ।
आज हुने निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । उक्त बारमा ८१२ मतदाता छन् । ललितपुर वारमा प्रगतिशील, पेशागत कानुन व्यवसायी समूहको वचस्व रहदै आएको छ ।



यो पनि पढ्नुहोस