Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सहकारीले निक्षेप रकम नदिएपछि पीडितले गुहारे मन्त्री

सहकारीले निक्षेप रकम नदिएपछि पीडितले गुहारे मन्त्री

दैनिकी न्यूज

९, फाल्गुण २०७९
सहकारीले निक्षेप रकम नदिएपछि पीडितले गुहारे मन्त्री
images

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारीका बचतकर्ताले हप्तौं धाउँदा पनि भुक्तानी नपाएपछि सोमवार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र बुझाउँदै भुक्तानीको पहल गरिदिन आग्रह गरेका छन् । २०७१ सालदेखि सञ्चालनमा आएको उक्त सहकारी संस्था पूँजीका हिसाबले यस क्षेत्रकै अब्बल मानिँदै आएको थियो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री मोदीले बचतकर्ताको रकम सुरक्षित तरीकाबाट फिर्ता गराउन पहलका लागि मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको बताए ।

सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ बचत रहेको तुलसी बहुमुखी सहकारी एक सातादेखि बन्द छ । जिल्ला प्रशासन कार्यालयले उक्त सहकारीका सञ्चालकको बैंक खाता रोक्का गरेको छ । साथै विभिन्न स्थानमा रहेको सहकारीको अचल सम्पत्ति समेत रोक्का छ ।

बचतकर्ताले भुक्तानीको माग गर्दै सहकारीका अध्यक्षसहितका सञ्चालकको घर घेरेपछि प्रहरीले त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । बचत गरेको रकम साँवा र ब्याजसहित दिनुपर्ने माग राख्दै निक्षेपकर्ताहरू आन्दोलित भएपछि प्रहरीले सहकारीकी उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई पक्राउ गरेको हो । बचतकर्ताको रकम पाँच दिनभित्र फिर्ता नभए उनीहरूलाई कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

विराटनगर–४ की विमला भट्टराईले तुलसी बहुमुखी सहकारीको मुद्दती खातामा १८ लाख रुपैयाँ जम्मा गरेको वर्ष दिन पूरा भइसक्दा पनि सहकारीले साँवा र ब्याज रकम दिन आलटाल गरेको बताइन् । ‘मुद्दती खातामा जम्मा गरेको अवधि पूरा भइसक्दा पनि सहकारीले अहिलेसम्म साँवा र ब्याज दिन सकेको छैन,’ उनले भनिन्, ‘सहकारी धाएको महीनौं हुन लागिसक्यो । तर, सहकारीले भाखा दिँदै फर्काउने गरेको छ ।’

विराटनगरकै ममताकुमारी साहले पनि उक्त सहकारीमा आफूले बचत गरेको रकम फिर्ता पाउन नसकेको बताइन् । ‘फिक्स्ड डिपोजिट गरेको वर्ष दिन भयो । अवधि पूरा भएपछि सहकारीमा पैसा लिन आएको हप्तौं बितिसक्यो, अहिलेसम्म दिने छाँटकाँट छैन,’ उनले भनिन् ।

सहकारीका विराटनगर शाखा प्रबन्धक मन्दिप खवासले आर्थिक मन्दीका कारण सहकारीको लगानी समयमा उठ्न नसक्दा निक्षेपकर्ताको रकम फिर्ता गर्न समस्या भएको बताएका छन् । संस्थाको विराटनगरस्थित मुख्य शाखामा मात्रै करीब ६ हजार सर्वसाधारणको ६५ करोड रुपैयाँ बचत छ । मोरङ, झापा, सिरहा र उदयपुरमा यो सहकारीका शाखा छन् । रकम अभावकै कारण सहकारीले सूचना जारी गरेर प्रत्येक दिन ३० जना बचतकर्तालाई प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म फिर्ता गर्ने बताएको छ । तर सर्वसाधारणको भीडले सातादेखि सहकारी नै बन्द रहँदा त्यो पनि गर्न नसकिएको खवासले बताए । यो खबर आजको आर्थिक अभियानमा वेदराज पौडेलले लेखेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७९ मंगलवार - ०७:०१:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology