काठमाडौँ । १० वर्षे सशस्त्र जनयुद्धमा सँगै सहभागी भएका विभिन्न माओवादी धारा नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
यसअघि फागुन २१ मा माओवादी घटकका नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायत एउटै मञ्चमा देखिएका थिए। सहिद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको सो कार्यक्रममा नेताहरूले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताएका थिए।
त्यसपछि आज पहिलोपटक माओवादीबाट विभाजित भएका नेताहरूको बैठक बसेको हो।
‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन्। सोही विषयमा आजको बैठक केन्द्रित हुने सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादव, नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुती, नेताहरू कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत सहभागी छन्।
साथै बैठकमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरूङ, मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायत पनि सहभागी छन्।