काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमा कालोधन लुकाउने गरेको आरोप लगाएको छ ।
सो पार्टीले विभिन्न बुँदामा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीमाथि आरोपको शृंखला नै लगाएको छ ।
सहकारी र भण्डारीविरुद्ध प्रसारित पर्चामा १४ बुँदामा आरोप लगाइएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भण्डारीले आपसी मिलेमतोमा संस्थाको करिब ४० करोड रुपैयाँ व्यक्तिगत नाफा कमाउने उद्देश्यसहित घरजग्गामा लगानी गरी संस्था डुबाउने काम गरेको सो पार्टीको आरोप छ । त्यस्तै, संस्थाकै ४० करोड रुपैयाँभन्दा बढी लगानी रहेको भैरवकुण्ड हाइड्रोपावरमा समेत लगानी फसेको आरोप छ । सुरेन्द्र भण्डारी आफै सञ्चालक रहेको सो हाइड्रोपावरले विभिन्न बैंकसँग ऋणसमेत लिएर ऋण नतिरेको आरोपसमेत सो पार्टीले लगाएको छ ।
सहकारीले प्रचलित नीति, नियम र नियमावलीविपरीत सञ्चालक समितिमा निश्चित व्यक्ति र व्यक्तिगत स्वार्थ हावी गराई मनपरी ढंगले संस्था सञ्चालन गर्दा संस्थागत बेथिति, वित्तीय कुशासन, अपचलनजस्ता खराब परिणाम देखिएको उनीहरूको आरोप छ ।
त्यस्तै, भण्डारीले विभिन्न झुटा कागजात तयार पारी अदालतलाई समेत गुमराहमा राखेर नेवारी सभ्यतासँग जोडिएको ऐतिहासिक ‘समे फल्चा’ निर्माणमा अवरोध सिर्जना गरी नेवाः समुदायको भावनामा खेलबाड गरेको समेत आरोप छ । गायक रामकृष्ण ढकाल, केशव पुरीलगायतको घरसमेत गैरकानुनी रूपमा हडपेको आरोपसमेत भण्डारीमाथि छ ।
आफैले संकटग्रस्त बनाएको सहकारीबाट भण्डारीले मासिक ४–५ लाख रुपैयाँ तलब लिएर व्यक्तिगत लुट मच्चाएको आरोप सो पार्टीले लगाएको छ । त्यस्तै, भण्डारीले राजनीतिक र प्रशासनिक क्षेत्रका दलाल एवं माफियाहरूले लुटेको कालोधनलाई सेतो बनाउन सहकारी संस्थाको दुरुपयोग गरेको आरोप नेकपा बहुमतले लगाएको छ ।
हेर्नुहोस् आरोप
