Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

दैनिकी न्यूज

१९, जेठ २०८०
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ ।

महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो ।
जभाभाबी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडकमा जथाभाबी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।

काठमाडौँ महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन आग्रह गरेको छ । “काठमाडौँबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँग आग्रह गरिन्छ”, महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभाबी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरले जनाएको छ । धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ । सूचनाको अटेरी गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्ने महानगरको सूचनामा उल्लेख छ ।

images
प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - १२:०३:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology