सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएको भन्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू जारी गरेका हुन् । “आज मिति २०८०।०६।०४ गते बिहीबार राति १०ः०० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ,” प्रमुख जिल्ला अधिकारी यादवले जारी गरेको आदेशमा उल्लेख छ ।
बिहीबार साँझ भएको झडपमा करिब आधा दर्जन घाइते भएका र स्थिति नियन्त्रणमा लिन ३ सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
कर्फ्यू अवधिमा पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी,पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोल पम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न नपाइने आदेशमा उल्लेख छ ।
आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले आवश्यकताअनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाहीसमेत गर्न सक्ने प्रमुख जिल्ला अधिकारी यादवले जारी गरेको आदेशमा उल्लेख छ । डेढ साताअघि पनि दुई समुदायबीच भएको झडपले उग्ररुप लिएपछि मलंगवामा कर्फ्यु लगाइएको थियो ।
