धादिङ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी–६ गोलाङमा मंसिर १४ गते भएको एक वृद्धा हत्या भएको थियो । जेलबाट निस्केकै दिन एक व्यक्तिले ६२ वर्षिया वृद्धा मनकुमारी सर्किनीको हत्या गरेको नयाँ तथ्य खुलासा भएको छ । हत्यामा संलग्नहरू पक्राउ परेसँगै नयाँ तथ्य सार्वजनिक भएको हो । मनकुमारी आफ्नै घरमा मंसिर १५ गते मृत अवस्थामा फेला परेकी थिइन् ।
घटना रहस्यमयी भएको भन्दै पीडित परिवारले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । घटनास्थलमा खटिएको प्रहरी निरीक्षक अभय लामाको टोलीले मृतक महिलाको शवलाई सुक्ष्म रूपमा अनुसन्धान गर्दा मृतकको अनुहारमा कोतरिएको, घाँटीमा डामहरू देखिएको, घटनास्थलमा चुराको फुटेको टुक्रा र पोतेको दानाहरू छरप्रष्ट अवस्थामा रहेको देखिएको थियो । शवको प्रकृति हेर्दा महिलाको कर्तव्य गरि हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृत महिलालाई कर्तव्य गरी मारेको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्र बताए ।
प्रहरी अनुसन्धानमा खुले अनुसार मृतक महिलालाई त्रिपुरासुन्दरी–६ गोलाङ वस्ने अन्दाजी ४० वर्षिय शिवबहादुर वस्यालले एक दिन अघि रातको समयमा ती वृद्धाको घाँटी थिचेर हत्या गरेका थिए । उनलाई प्रहरीले गोलाङमै कच्ची गोरेटो बाटोमा लुकिछिपी वसेको अवस्थामा नियन्त्रणमा लिएको हो । घटनाका अरोपी बस्यालले बयानमा अभियोग स्विकार गरेको प्रहरीले जनाएको छ । बस्यालले दिएको बयान अनुसार उनलाई स्थानीय ५४ वर्षिय टोप बहादुर सार्की र ५० वर्षिय सुनिल नेपालीले आदेश दिएको बयानमा खुलाएका छन् ।
पक्राउ परेका शिवबहादुर बस्याल यसअघि पनि जबरजस्ती करणी उद्योग, चोरीलगायतको फौजदारी कसूरहरूमा पटक÷पटक सजाय पाएको व्यक्ति रहेको प्रहरीको अभिलेखबाट देखिएको छ ।
२०८० मंसिर १४ गते नै जिल्ला कारागार धादिङबाट उनी चोरी मुद्दामा २० महिना सजाय भुक्तान गरि छुटेका थिए । सोही दिन उनले ती वृद्धालाई घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका सार्की र नेपालीले बस्याललाई आर्थिक प्रलोभन देखाएर हत्याका लागि प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरू तीनै जनालाई जिल्ला अदालत धादिङले मंसिर १५ गतेदेखि लागु हुने गरी ७ दिनको म्याद थप गरी अनुसन्धानका प्रकृया शुरु गरिएको प्रहरी उपरीक्षक मिश्रको भनाई छ ।