भक्तपुर । सङ्घीय सरकारले देशैभरीका सरकारी तथा सामुदायिक अस्पतालमध्ये ‘सेकेण्डरी ए लेभल’ वर्गीकरणमा उत्कृष्ट ठह-याएको भक्तपुर जिल्ला अस्पताल यतिखेर अस्तव्यस्त हुन पुगेको छ । गएको भदौ महिनादेखि अस्पतालको बेथिति सुरु भएको छ । अस्पतालको गम्भीर निरीक्षणपछि विहंगम रिपोर्ट सार्वजनिक गरिनेछ ।
यसअघि अस्पतालमा सामान्यतया आठ सयदेखि एक हजार जनालाई सेवा गर्दै आएकोमा यतिखेर यो सङ्ख्या पुरै घटेको छ । दैनिक भर्ना भएर आवासीय सेवा लिनेको ४० जनादेखि ४५ जनासम्म भएकोमा यतिखेर खाली हुँदै गएको छ ।
कहाँ जान्छन विरामी ?
भक्तपुर अस्पतालको सेवा लिन गएका विरामीहरू त्यहाँबाट सिधै भक्तपुर इण्टरनेशनल प्रालि कौशलटार रिफर गरिन्छन् । त्यहाँ उपचार हुन नसक्नेलाई अन्यत्र पनि रिफर गर्ने गरिन्छ । यो अनियमितताको मुख्य निर्देशक सर्जिकल वार्डका डा श्रीधर अर्याल हुन । आकस्मिक कक्षमा आएका विरामी दर्ता गरेर र दर्ता नगरी पनि अन्यत्र अस्पतालमा पठाउने गरिएको छ । अस्पतालको दुरावस्ता टुलुटुलु हेरेर बस्नेमा मेडिकल सुपरिटेण्डेन्ट त्रिभुवनचन्द्र झा पनि जिम्मेवार छन् । स्थानीय भक्तपुर नगरपालिका, प्रदेश सरकार र स्वयम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बेखबर छ । अस्पताल व्यवस्थापन समितिले देखे नदेखे झैं गरेको छ ।
विशेषज्ञ सेवा ठप्पः
अस्पतालको बेथिति विशेषज्ञ सेवाको अभावले पनि हो । विषयगत विशेषज्ञको अभावमा अस्पतालको सेवा विस्तार हुन सकेको छैन । चार महिनादेखि छाला रोग विशेषज्ञ, छ महिनादेखि आँखा रोग विशेषज्ञ, एक महिनादेखि छाति रोग विशेषज्ञ अस्पतालमा छैनन । यसरी नै दुई जना बाल विशेषज्ञ रहेकोमा एक जना मात्रै सेवारत छन् । यसरी भक्तपुर अस्पतालमा आइसियु, एचडियु र मेडिकल वार्डमा प्रत्येक महिना विरामी घट्दै गएर सून्य हुने अवस्थातर्फ बढेको छ । सम्बन्धित निकायको आँखा अगाडि ध्यान नपुग्नु आफैमा अर्थपूर्ण छ ।
विगतको नियतीः
२०७७ साल अघिको नियती हेर्ने हो भने यो अस्पताल रिफर अस्पताल नामले चर्चित थियो । तर डा. सुमित्रा गौतम (तत्कालीन मेडिकल सुपरिटेण्डेन्ट) भक्तपुर अस्पतालको नेतृत्वमा आएपछि अस्पतालको रूपरंगै फेरियो । कोरोना महामारीको समयमा अस्पतालले उत्कृष्ठ सेवा गरेपछि यसको ख्याती बढेको हो । डा. गौतमकै नेतृत्व भएको बेला देशकै सर्वोत्कृष्ठ अस्पताल बन्यो । सात सय ७३ बुँदा मध्ये सात सय ५३ बुँदामा ९७ अंक प्राप्त गरी देशकै नमूना अस्पताल भएको थियो ।