Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एमालेबाट निर्वाचित जीतपुरसिमराका वडाध्यक्ष घुस रकम सहित पक्राउ

एमालेबाट निर्वाचित जीतपुरसिमराका वडाध्यक्ष घुस रकम सहित पक्राउ

दैनिकी न्यूज

२, पौष २०८०
एमालेबाट निर्वाचित जीतपुरसिमराका वडाध्यक्ष घुस रकम सहित पक्राउ
images

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराको जीतपुरबाट एक जना वडाध्यक्षलाई घुस रकम सहित पक्राउ गरेको छ । हेटौडा स्थित अख्तियारको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई पाँच लाख घुस रकम सहित पक्राउ गरेको हो ।

नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरिएको आयोग हेटौडा कार्यालयका सूचना अधिकारी गोबिन्दप्रसाद गौतमले जानकारी दिए । वडाध्यक्ष कार्कीले पल्टीङ्ग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । कार्की नेकपा (एमाले) का मधेश प्रदेश कमिटी सदस्य हुन ।

सिमरामा जग्गा व्यवसाय गर्दै आएका जीतपुरसिमरा वडा नं. २ का राजेन्द्र उप्रेती ‘राजन’ ले वडा अध्यक्ष कार्कीलाई यसअघि १३–१४ लाख बुझाईसकेको दाबी गरेका छन् । उनले अत्ति भएपछि अख्तियार गुहारेँ जनाएका छन् । उप्रेतीले साथी दिनेश सुवेदीसँग मिलेर काठमाडौंका एक व्यक्तिको जग्गा एग्रिमेन्ट गरेको र सो जमिनको घरबाटो सिफारिस लिने क्रममा वडा अध्यक्ष कार्कीले पटक–पटक गरेर १३–१४ लाख लिईसकेको दाबी गरे । सिफासिस दिनको लागि वडा अध्यक्ष कार्कीले विभिन्न व्यक्तिको नाममा रकम हाल्न दबाब दिने गरेको बताए । ‘जमिन सम्बन्धि मुद्दामा आफ्नो धेरै खर्च भएको भन्दै रकम माग्न सुरु गरेका कार्कीले पछिल्लो समय घरमा पेन्ट गर्न रकम चाहिएको भन्दै पाँच लाख घुँस रकम माग गरे’, व्यवसायि कार्कीले भने– धेरै दुख दिएपछि अत्ति भएपछि मैले अख्तियारमा जानकारी गराएँ ।

अख्तियारको सल्लाह अनुसार आफुले रकम बुझाएको उप्रेतीले जानकारी दिए । ‘अख्तियारमा पैसाको नम्बर टिपाएर रकम बुझाएको थिएँ,’ योजना अनुसार नै अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । काम गरेर खाने अवस्था नभएपछि बाध्य भएर अख्तियार गुहार्नु परेको उप्रेतीको भनाई छ । उनले मन्दिको अवस्थामा बल्ल बल्ल जग्गा किन्न मान्छे आउँदा सिफारिस नदिएर दुःख दिएको गुनासो गरे ।उप्रेतीका अनुसार वडा अध्यक्ष कार्कीले पाँच लाख बुझेपछि सिफारिस दिने भनेका थिए । सिफारिस पत्र वडा कार्यालयमा तयार पारेर घुँस रकम बुझ्न कार्की होटलमा आएका थिए । अख्तियारले नियन्त्रणमा लिएका वडा अध्यक्ष कार्कीलाई हेटौँडा हुँदै काठमाडौँ लैजाने तयारी रहेको जनाएको छ । वडा अध्यक्ष कार्की पक्राउँ पर्दा होटल अगाडि करिब एक सय भन्दा बढी सङ्ख्यामा हेर्न आउँने मानिसको भिड लागेको थियो । स्थितलाई नियन्त्रणमा राख्न बाक्लो सङ्ख्यामा होटल अगाडि प्रहरी परिचालन गरिएको थियो।

images
प्रकाशित मिति :पौष २, २०८० सोमवार - २०:५३:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology