Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मन्त्री र सचिवालय हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड

मन्त्री र सचिवालय हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड

दैनिकी न्यूज

१६, पौष २०८०
मन्त्री र सचिवालय हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड
images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।

आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र सत्तारूढ नेपाली कांग्रेसको ७ फागुनमा हुने महासमिति बैठकपश्चात मन्त्रिपरिषद्को हेरफेर हुनेछ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचन र पार्टीको महासमिति बैठकपश्चात सहमति गर्ने जनाइसकेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव मन्त्रिपरिषद् हेरफेरका विषयमा सहमत छन् । मन्त्रिपरिषद् हेरफेर हुँदा केही मन्त्रालयसमेत साटासाट हुने स्रोतको दाबी छ ।

गृह मन्त्रालय लिएको माओवादी केन्द्रले गृह छोडेर अर्थ मन्त्रालय लिँदै छ भने अर्थ मन्त्रालय लिएको कांग्रेसले गृह मन्त्रालय लिने बताइएको छ । यसमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा दुवैको स्वार्थ मिलेको छ । प्रधानमन्त्री प्रचण्ड आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटार आफ्ना विश्वासपात्र बर्षमान पुनलाई सरकारमा भित्र्याउन चाहन्छन् । माओवादी केन्द्रका उपमहासचिव रहेका पुनलाई प्रचण्डले अर्थ मन्त्रालयको कमान्ड दिन खोजेका छन् ।

उता, कांग्रेस सभापति देउवाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई हटाउन खोजेका छन् । तर, उनले गृह मन्त्रालय कांग्रेसले लिएर त्यसमा कसलाई पठाउने भन्ने केही बोलेका छैनन् । गृह मन्त्रालय नपाउँदा आफ्ना कतिपय सेटिङका काम बिग्रेको बुझाइ देउवाको छ । त्यसैले, उनी अर्थ छोडेर गृह पाउनुपर्ने अडानमा छन् ।

मन्त्रिपरिषद् हेरफेर गर्ने प्रस्ताव प्रधानमन्त्री प्रचण्डले गरेपछि कांग्रेस सभापति देउवाले अर्थ र गृह साट्ने प्रस्ताव गरेको बालुवाटार स्रोतको दाबी छ । देउवाको यस्तो प्रस्तावपछि प्रचण्डले पनि सहज महसुस गरेका छन् । स्रोतका अनुसार मन्त्रालयसमेत साट्ने विषयमा प्रचण्ड र देउवा दुवैको स्वार्थ मिलेको छ ।

गृहमन्त्री श्रेष्ठका कारण हैरान भएका प्रचण्डलाई कांग्रेसको प्रस्तावले राहत मिलेको बताइएको छ । ठूला–ठूला भ्रष्टाचार काण्डहरूमा गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री तथा माओवादी अध्यक्षसमेत रहेका प्रचण्डलाई जानकारी नै नगराई गतिविधि गरेका कारण प्रधानमन्त्री प्रचण्ड कांग्रेसको दबाबमा पर्दै आएका छन् । त्यसमाथि आफूलाई समेत बाइपास गर्दै मनलाग्दी निर्णय गर्दै आएका श्रेष्ठसँग प्रधानमन्त्री रुष्ट पनि छन् ।

यो खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

images
प्रकाशित मिति :पौष १६, २०८० सोमवार - ०६:०५:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology