सर्लाही । सर्लाहीको बरहथवामा पुनः कर्फ्यु आदेश जारी गरिएको छ। शुक्रबार प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपश्चातको अवस्था शान्त नभएपछि पुनः सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो।
शुक्रबार दिउँसो बरहथवा नगरपालिका वडा नं. ६ स्थित रहेको १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको प्रादेशिक अस्पतालमा स्तरोन्नती गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भएर झडप हुँदा बरहथवा नगरपालिका वडा नं. ६ का अन्दाजी वर्ष ३० का जय शंकर प्रसाद साहको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो।
आन्दोलन मै सहभागी नभएका स्थानीय व्यवासायी साहको मृत्यु भए पछि प्रदर्शनीकारीहरुले शव तीन दिनदेखि घटनास्थलमै राखेर प्रदर्शन गरि रहेका छन्। घटना हुँदा प्रहरीले गोली चलाएको भएपनि जिल्ला प्रशासन कार्यालयले गोली चलाउन कुनै आदेश नै नदिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताए ।
घटना उग्र भएको हतियार खोस्न खोजेपछि प्रहरीले बाध्य भएर १९ सेल अश्रुग्यास र १३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक प्रवीण धितालले बताए ।
बरहथवा घटनामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय मलंगवा तानिएका छन्। मृतक साहको शव उठाउन परिवार, प्रदर्शनकारी र प्रशासनबीच छलफल निरन्तर भईरहेको भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन भने प्रदर्शनकारीले प्रदर्शन थप चर्काएपछि पुनः कफ्र्यू जारी गरेको हो ।
आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए।
बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनाको तोडफोड, आगजनी तथा हुलदंगा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भंग हुन सक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) (ख) र दफा ६ को (२) (३) (४) बमोजिम बरहथवा नगरक्षेत्र (उत्तर सोती/चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र कर्फ्यु लगाइएको हो।
पीडित र आन्दोलनकारीहरुले नगर प्रमुख कल्पना कुमारी कटुवालको राजिनामा गराई कार्बाही गर्नु पर्ने, ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरीक्षकलाई निलम्बन गर्नु पर्ने, ५० शैयाको अस्पताल कायम हुनु पर्ने,मृतकलाई सहिद घोषणा गर्नु पर्ने, नेपाल बैँक चोकमा र अस्पतालमा शहिदको शालिक राख्नु पर्ने, मृतकको परिवारका एक सदस्यलाई सरकारी जागिरको व्यावस्था गर्नु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र गोली चलाउन आदेश दिने र गोली चलाउनेलाई कार्बाही गर्नु पर्ने लगायतका माग राखेका आन्दोलनको नेतृत्व गरेका नेपाली कांग्रेस बरहथवा नगर समिति सभापति विगुप्रसाद चौधरीले जानकारी दिए ।
घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी गरि तीन सदस्यीय छानविन समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।
