काठमाडौँ । कार्ड अभावले चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्न नसकिरहेको अवस्थामा ६ लाख थान कार्ड जर्मनीबाट आएपछि यातायात व्यवस्था विभागलाई राहत मिलेको छ। जर्मनीको म्युह्लवार कम्पनीबाट शुक्रबार बिहान लाइसेन्स कार्ड आइपुगेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए।
विभागसँग करिब ४५ हजार मात्र कार्ड भएको अवस्थामा थप ६ लाख थान आएपछि वितरण खुकुलो पारिनेछ। पर्याप्त कार्ड नभएकाले ६ महिनायता सीमित मात्रामा लाइसेन्स वितरण गरिँदै आएको छ। प्राप्त कार्ड पर्याप्त भने होइनन्। परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको संख्या १४ लाख ५८ हजार पुगेको छ।
रिजालका अनुसार माघ पहिलो साताबाट लाइसेन्स कार्ड छापेर सेवाग्राहीलाई वितरण सुरु गरिनेछ। विभागसँग भएका मेसिनले एक दिनमा ७ हजार लाइसेन्स छाप्ने क्षमता राख्ने रिजालले बताए। ‘प्राप्त कार्ड ल्याब टेस्ट गर्न फेरि जर्मनी नै पठाउँछौं। ती कार्ड फेरि यहाँ आइपुग्न करिब एक साता लाग्छ,’ रिजालले भने, ‘त्यसलगत्तै छपाइ सुरु गर्छौं।’ कार्डको ल्याब टेस्ट ठेक्का पनि जर्मनीकै कम्पनीले पाएको छ।
६ महिनायता लाइसेन्स छपाइ ठप्प छ। अहिले दैनिक लाइसेन्स परीक्षा पास गर्ने र नवीकरण गर्न विभागका विभिन्न निकायमा पुग्नेको संख्या ४ देखि ५ हजारसम्म छ। विभागका अनुसार तत्कालै कार्ड छाप्न नयाँ मेसिन पनि खरिद गर्न लागिएको छ। अहिले त्यसका लागि ठेक्का मूल्यांकन भइरहेको विभागको भनाइ छ।
वैशाखबाट लाइसेन्स वितरण समस्या कम हुने रिजालको भनाइ छ। ‘वैशाखसम्म नयाँ मेसिनबाट छपाइ सुरु हुनेछ। त्यसबाहेक प्रदेश सरकारहरूले पनि कार्ड छपाइ सुरु गर्नेछन्,’ उनले भने। अहिले विभागले निकै सीमित संख्यामा वैदेशिक रोजगारी र विदेश अध्ययन गर्न जानेलाई मात्र लाइसेन्स दिने गरेको छ। यो संख्या दैनिक ४०० सम्म हुन्छ। यो खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।