ललितपुर । ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि प्रस्तावित बार्षिक बजेट पारित गरेको छ। यही असार १० गते बसेको महानगरको नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पेश गरेको २०८१–८२ को बार्षिक बजेट, आर्थिक विद्येयक सोमबार बसेको नगरसभाको सर्वसम्मतिको निर्णयले पारित भएको प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष राजु महर्जनले जानकारी दिए ।
महानगरको कार्यपालिका वोर्ड बैठकबाट निर्णय भइ असार १० गतेको नगरसभामा उपप्रमुख बज्राचार्यले ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट पेश गरेको थियो ।
‘महानगरको पाँचौं नगरसभाको पहिलो बैठकमा असार पाँच गते प्रमुखज्यूले पेश गर्नुभएको नीति तथा कार्यक्रम असार ७ गते बसेको दोस्रो बैठकले पारित गरेको थियो, सोही आधारमा १० गतेको तेस्रो बैठकमा उपप्रमुख मञ्जली शाक्यले बज्राचार्यले नीति तथा कार्यक्रममा आधारित गरेर बजेट प्रस्तुत गर्नुभएको थियो। नगरसभा सदस्यहरुले ७ दिन अध्ययन गरेर आज नगरसभामा छलफल गरेर पारित गरिएको हो ।' प्रवक्ता महर्जनले भने ।
‘बार्षिक बजेटमा स्रोतको ब्यवस्थापनतर्फ संघीय सरकारबाट १ अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ, आन्तरिक स्रोतबाट ३अर्व ५५ करोड ९६ लाख संकलन हुने अनुमान गरिएको छ।' प्रवक्ता महर्जनले भने ।
प्रवक्ता महर्जनका अनुसार चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धनका साथै पोखरीहरुको संरक्षण गर्दै शहरी सौन्दर्यता कायम राख्ने कुरालाई महानगरले विगतका वर्षहरुदेखि नै प्राथमिकतामा राख्दै आएको छ ।