Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

दैनिकी न्यूज

१३, आश्विन २०८१
अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान
images

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन् । उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन् ।
तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए ।
खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाइ २२ वर्षीय राज आफै पौडेल उत्रिएका थिए भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ ।

chadikala 1.jpg
‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिए । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताए । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताए ।
काभ्रेको तेमाल गाउँपालिका वडा नं. ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हु्न । उनका दाइ तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गरेका थिए ।
सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताए । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताए । उनले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताए ।

images
प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - १८:०२:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology